>L g/b]jL Zj]tsfnL dfO{

परिचयः

नरदेवी टोल प्राचिन काठमाडौं शहारको एक प्रसिद्ध टोल हो । यो टोल प्राचीन हनुमानढोका दरवारक्षेत्रदेखि उत्तर-पश्चिम भेगमा पर्दछ । हनुमानढोकाबाट यहाँ आइपु्ग्न करिब ५-७ मिनेट हिँडे पुग्दछ । टोल हाल काठमाडौं महानगरपालिका वडा नं १८ र २४मा पर्दछ ।

पूर्वमा किलागल, दक्षिणमा यटखा र उत्तरमा रहेको टेंगल टोलहरुको आआफ्नै धार्मिक साँस्कृतिक परम्पराहरु छन् तथापि यी टोलहरु साँस्कृतिक हिसाबबाट धेरथोर नरदेवी टोलसित गाँसिएका पनि छन्। नेटपाचो (पश्चिम) चाहिँ मूलतः नरदेवी टोलकै अङ्ग मानिएको देखिन्छ । यो पश्चिमको गाउँबस्तिहरुबाट काठमाडौं आवत-जावत गर्ने मूलबाटो पनि हो । नेटपाचोको पश्चिम छेउमा ताम्सिपाखा नपुग्दै उहिले नगर प्रवेशद्वार भएको बुझिन्छ ।

इतिहासः


नरदेवी टोल ऐतिहासिक दृष्टिले कतिपुरानो हो भन्ने सम्बन्धमा यसको शिलान्यास लिच्छविकालमा भएको अनुमान गर्न सकिन्छ । देवमाला वंशावलीमा अनुसार नरदेवी शक्तिपीठको स्थापना र प्रानप्रतिष्ठा सूर्यवंशी राजा गुणकामदेवले गरेका हुन् । कलिगत ३८२५ मा गुणकामदेव (विसं १०४३-४६ ) ले १००० घरधुरि को कान्तिपुर नगर बसाए पश्चात देशरक्षाका लागि नगरको मध्यभागमा श्वेतकाली (नरदेवी) पीठको प्रतिष्ठा गरेका थिए। यसरी नगरबीच पीठ स्थापना भएपछि पीठको वरिपरि नागरिकहरुको बस्ती बस्नु स्वाभाविक छ । कालन्तरमा यहि बस्तीबाट नरदेवी टोलको प्रारम्भ भएको हुनु पर्दछ। इतिहासविद् डा जगदीशचन्द्र रेग्मीले नरदेवी भेगमा प्राप्त नेसं २२१ (विसं ११५८) को जलद्रोणी र त्यसमा अङ्कित अभिलेखको उल्लेख गर्नुभएको छ (पृ १३१) । जलद्रोणी (धारा) भएपछि त्यसको आसपास वा वरिपरि बस्ती बसेको हुनु पर्दछ । यसरी हेर्दा विसं ११६० ताका नरदेवी टोल छोटोमोटो आकारमा विकसित भइसकेको अनुमान गर्न सकिन्छ ।

यसैगरि, इटुम्बहाल नरदेवी टोलको आसपास परेको हुनाले यसको विकाससँग सँगै नरदेवी टोलको पनि विकास हुँदैगएको अनुमान गर्न सकिन्छ । डा जगदीशचन्द्र रेग्मीले गोपालवंशावलीलाई उद्घृत गर्दै नेसं ३६१(विसं १२९८) मा पाटनका कातिपाल भारोले याटुम्बहार(इटुम्बहाल) को किल्ला खुलाएको प्रसङ्ग उल्लेख गर्नु भएको छ । किल्लाभित्र कीर्तिहरु थप्दै जाँदा नरदेवी टोल र टोलको जनजीवनको विकासस्तर बढ्दै गएको हुन सक्दछ ।

एवंक्रममा नरदेवी टोलको विकास अगाडी बढ्दै जाँदा कान्तिपुर नगरको एक प्रमुख टोलको रुपमा यसको पहिचान पूर्वमल्लकालमा स्थापित भएको देखिन्छ । वर्तमान साँस्कृतिक रुपमा यसको विकास प्राचीन यम्बु अथवा उत्तर टोल (हाल थःने)का असन, वंघः(इन्द्रचोक) र मन्दो(मरु) आदि टोलगरुको विकासको हाराहारी हुँदै गएको हुनु पर्दछ ।

कालक्रममा नरदेवीक्षेत्रका नाउँ के-के थिए त्यो भन्न सकिने कुरो भएन। डा जगदीशचन्द्र रेग्मीका अनुसार यसको ‘ङत’ नाउँको पहिलो लिपिबद्ध प्रमाण नेसं ५५९ (विसं १४९६) को “तुलाधर पटिसाहु” को प्रसङ्गमा भएको पाइन्छ (पृ १३३) ।

देवीको नाउँः

नरदेवी भगवतीको प्रारम्भिक नाउँके थियो यसै भन्न सकिएन । मल्लकालमा आएर उपत्यकाका नेवारहरुले उहाँलाई ‘ङतभुलु’ र पछि ‘ङतमरु’ अजिमा भन्न थाले । आधुनिककालमा आएर नरदेवी भन्न थालियो । नरबली लिने देवी भन्ने अवधारणावश मैतिदेवी, टुँडालदेवी आदि नाउँहरुको नमूनामा उहाँलाई नरदेवी भन्न थालिएको हुनु पर्दछ । उहाँको शास्त्रीय नाउँ चाहिँ श्वेतकाली भएको देखिन्छ र आज हामी उहाँलाई यसै नाउँले मान्दछौं ।

 

श्वेतकाली (नरदेवी) सम्बन्धि अनुश्रुतिहरुः

श्वेतकालीको प्रादुर्भावबारे केहि रोचक अनुश्रुतिहरु सुन्न पाईन्छ जुन यसप्रकार छन् ।

१. परापूर्वकालमा हालको नरदेवी टोल र यसको वरिपरि जङ्गलैजङ्गल थियो । एक दिन बनेपाका राजा शिकार खेल्न भनी पश्चिमतिर लागे । साँझपख राजा आफ्नो लश्करबाट छुट्टिई बाक्लो बनमा एक्लिना पुगे । राजा त्यसबेला हालको हिसाबले किलागल टोलको पूर्वी भागमा पुगेका रहेछन् । त्यस्तैमा झमक्क साँझ हुने बेला भयो। रात बिताउने ठाउँ खोज्दै जाँदा यतिकैमा एउटा अजङ्गको हात्ति आफुतिर हान्निदै आएको देख्यो । ज्यान जाने डरले राजा हुत्तिंदै पश्चिमतिर दौडिए जाने क्रममा बाटामा एउटा कदम्बवृक्षमुनि सेतो उज्यालो बत्ति एकनास बलिरहेको देखे । बत्तिको अगाडि पुगेपछि शरणका लागि राजा त्यहिँ घोप्टए । लखेट्दै आएको हात्ती फरक्क फर्किई जताबाट आएको हो त्यतैतिर लाग्यो । यसरी राजाको प्राण जोगियो । त्यो सेतो बत्तिनैं श्वेतकाली माईको प्रादुर्भाव थियो । कदम्बवृक्षको ठुटो यद्यपि कालीको मूर्तिपछाडि अझैपनि रहेको छ ।यसैगरी जङ्गलको अवस्थामा छँदा हालको किलागलक्षेत्र ‘किसि लाय् गः’ (जङ्गली हात्ति पक्रिने गढ) तयो भन्ने कुरो पानि सनिन्थ्यो। ‘किसि लाय् गः’ बाट बर्तमान किलागल नाउँ बन्न गएको हुन सक्दछ । अहिले पनि किलागल टोलमा एक तलामाथी हात्तिकै स्वरुपमा गणेशको प्राचीन मन्दिर विद्यमान छ । गणेशको यो मूर्ति माथि उल्लिखित हात्तिको प्रतिक हुन सक्छ ।

२. परापूर्वकालमा नेपाल देशमाथि एक प्रचण्ड दैत्यको आक्रमण भयो । राजाको केही सीप लागेन । देवीभक्त राजाले एक रात अनन्यमनस्क भई सहायतार्थ देवीको पुराका गरे। सपनामा तीन देवी – महाकाली, महालक्ष्मी र महासरस्वती प्रकट भई राजालाई भने, “हे राजन, धन्दा नमान । त्यस दुष्ट दैत्यलाई हामि तह लगाइदिन्छौं। स्तिथि साम्य भएपछि तिमिले हामी तीन दिदीबहिनीलाइ तीन छुट्टछुट्टै ठाउँमा स्थापित गरिदिनु । पछि राजाले महालक्ष्मीलाई भक्तपुरमा, महासरस्वतीलाई ललितपुरमा र महाकालीलाई कान्तिपुरमा राखेर आवश्यक सबै बन्दोबस्त मिलाइदिए। कान्तिपुरमा स्थापित उनै महाकालीनैं श्वेतकाली हुने भन्ने भनाई छ । श्वेतकाली शान्तिस्वरुपा अन्नदात्री ईश्वरी पनि हुन् र उनको भक्ति गरे दुई छाक खान कठिन पर्दैन भन्ने टोलवासीको विश्वास रहिआएको छ । सुथःमाजुका रुपमा श्वेतकालीले नाच्दै अन्नदान गर्नुहुने दृष्य श्वेतकालीको नृत्यमा प्रस्तुत गरिन्छ । कोहिले सुथमाजुको स्वरुपलाई करुणामय (रातो मच्छिन्द्रनाथ)का रुपमा पनि लिने गरेको पाइन्छ ।

३. नरदेवीका तुलाधरहरुको खास गरि भोट(तिब्बत)सितको व्यापारमा ठूलो नाउँ थियो । तिब्बतमा हुने व्यापारलाई ‘ल्हासाव्यापार’ र यिनीहरुलाई ‘ल्हासासाहु’ भनिन्थ्यो । श्वेतकाली अजिमा ल्हासाबाट आएकी हुन् भन्ने मान्यता राख्दै यिनलाई तुलाधर समुदायकी इष्टदेवी मान्दथे । आज पनि ल्हासासाहुका वंशजहरुमा यो मान्यता कायमै छ । तर अजिमा कहिले, कुन रुपमा र कस्तो प्रसङ्गमा ल्हासाबाट नेपालआएकी हुन त्यस कुराको अल्लख पाईदैन ।

४. नरदेवी टोलको साँस्कृतिक इतिहासमा कपर्दार भोटु पाँडेको ठूलो नाउँ छ । भोट(चीन) सित नेपालको लडाइँ (विसं १८४५-४९) मा भोटु यु्द्धबन्दी हुन पुगे । चिहियाँहरुले उनलाई सात ताल्चाभित्र थुने । ज्यान संकटमा परेका श्वेतकालीका परमभक्त भोटु पाँडेले एक रात कालीलाई सम्झिदै दुःखपुकारा गर्दै बन्धनबाट उम्किन पाए विभिन्न कुरा चढाउने भाकल गरे । कालीले उनलाई सपनामा दर्शन दिनुभयो । नभन्दै भोलिपल्ट बिहान निद्राबाट बिउँझिंदा उनले आफुलाई वर्तमान सोह्रखुट्टे पाटिमा पाए ।नेपाल फर्किएपछि उनले सोह्रखुट्टे पाटीको जीर्णोद्वार गराए । यसरी पकनाजोलको सोह्रखुट्टे पाटी नरदेवीको इतिहाससित सम्बद्ध हुन पुगेको देखिन्छ । पछि उनै पाँडेले सोह्रखुट्टे क्षेत्रको सामाजिक-साँस्कृतिक निर्माणमा ठूलो योगदान गरेको कुरा इतिहासमा पाइन्छ ।

 

  • हेरिएका कृतिः नरदेवी टोल एक बहुमुखी परिचयः