05 Mar

शालिक अनावरण

9:00 am
नरदेवी मन्दिर परिसर, काठमाडौं

मिति २०७८ फाल्गुण २१ गते शनिबार, का.म.पा. १८ वडा कार्यालयको विशेष सहयोगमा नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाज (परम्परागत ङ्यत त्वाः) को आयोजनामा, काठमाडौं स्थित नरदेवी मन्दिर प्रङ्गणमा नरदेवी श्री श्वेतकाली गुठीका पुर्व मुलधामी एवं परम्परागत ङ्यत त्वाःका पुर्व त्वाःनायः श्रद्धेय स्व. लक्ष्मीनारायण महर्जनको शालिक अनावरण कार्य सम्पन्न भएको छ । श्री श्वेतकाली गुठीका वर्तमान मुलधामी श्री देवकृष्ण महर्जन ज्यूको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि का.म.पा. का मेयर श्री विद्यासुन्दर शाक्य प्रमुख रहनु भएको थियो भने विशेष अतिथि का.म.पा. का उपमेयर श्री हरिप्रभा खड्गी(श्रेष्ठ) रहनुभएको थियो । यसैगरी अन्य अतिथिगणमा १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, ङत तुलाधर समितिका सचिव पूर्णरत्न तुलाधर, ज्यापु महागुथी येँ महानगर समितिका अध्यक्ष पंचनारायण महर्जन र ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण सिं ज्यू रहनु भएको थियो ।

कार्यक्रम समाजका सचिव रामकाजी महर्जनले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष मचाराज डंगोलले उपस्थित महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विद्यासुन्दर शाक्यबाट दिवंगत प्रति श्रद्धासुमन अर्पण गर्दै आफ्नो मन्तव्यका क्रममा महानगरभित्रका साँस्कृतिक सम्पदाहरुको संरक्षण सम्वर्द्धनका निम्ति का.म.पा. विशेष कार्यक्रम सहित अगाडी बढिरहेको सभालाई स्मरण गराउनु भयो । यसै क्रममा राष्ट्रको गौरव मानिने यस्ता साँस्कृतिक सम्पदाहरुको पुन:निर्माण कार्यमा केहि पक्षबाट प्रारम्भिक चरणदेखि हालसम्म पनि अवरोध सृजना गर्ने गतिविधि भइरहेको तितो सत्यबारे बोल्दै आगामी दिनमा राष्ट्र निर्माणकार्यमा महानगर र सम्बन्धित सबै हातेमालो गरेर जानुपर्नेमा जोड दिनु भयो ।

यसै गरि, मन्तव्य राख्ने क्रममा विशेष अतिथि हरिप्रभा खड्गी (श्रेष्ठ) ज्यूले स्थानिय धार्मिक साँस्कृतिक धरोहरको संरक्षण एवं संवर्द्धनमा जीवन समर्पन गर्नुहुने व्यक्तित्वको शालिक अनावरण गर्नुभएकोमा आफू अत्यन्त हर्षित भएको बताउनु भयो । यसको निम्ति आयोजकलाई विशेष धन्यबाद दिंदै यसले समाजमा राम्रो सन्देश जानुको साथै मानिसलाई सामजप्रति उत्तरदाई हुन प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो । यसरी राष्ट्रप्रति उत्तरदाई भई देशको कला, साँस्कृतिक, शैक्षिक, वौद्धिक, प्रशासनिक लगायत कुनैपनि क्षेत्रमा समर्पित भई समाजलाई सहि दिशानिर्देश गर्नुहुने सामाजिक व्यक्तित्वहरुको राष्ट्रले उचित सम्मान गर्नुपर्नेमा जोड दिनु भयो ।

मनतव्यको क्रममा १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले क्षेत्रका हिसावले आफ्नो वडा सानै भएपनि उच्च साँस्कृतिक महत्व बोकेको क्षेत्र रहेको उल्लेख गर्दै यहाँ रहेको सम्पूर्ण साँस्कृतिक धरोहरहरुलाई जीवन्त राख्न प्राथमिकताका साथ वडा लागिपरेको उल्लेख गर्नुभयो । यसै क्रममा श्वेतकाली गुठीका पुर्व मुलधामी स्व. लक्ष्मी नारायण महर्जन प्रति श्रद्धासुमन अर्पण गर्दै आगामि दिनमा वडाका अन्य केहि उच्च प्रतिस्थित राष्ट्रिय विभुतिहरुको पनि शालिक अनावरण गर्ने योजना रहेको जानकारी गराउनु भयो ।

यसै गरि, कार्यक्रममा उपस्थित अन्य अतिथिज्यूहरुले दिवंगत लक्ष्मी नारायण महर्जनले समाजप्रति गर्नुभएको योगदानबारे चर्चागर्दै, प्राचिन काठमाडौंका भित्री शहरका सम्पूर्ण मुर्त-अमुर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण सम्बर्द्धनमा काठमाडौं महानगरपालिकाबाट सधैं सहकार्यको अपेक्षा रहने विश्वास व्यक्तगर्नु भयो ।

अन्तमा आयोजक समाजका अध्यक्ष सत्यनारायण डंगोलद्वार दिवंगत लक्ष्मी नारायण महर्जनले श्वेतकाली गुठीका साथै स्थानीय ज्यापु समाजमा गर्नु भएको योगदानको स्मरण गराउँनु भयो । यसका साथै आगामी चैत १३ गते श्री श्वेतकाली १२ वर्षे देवीनाच पर्वकार्य अन्तर्गत देवीको नगरपरिक्रमा हुने जानकारी गराउँदै श्रीको परम्परागत धार्मिक कार्यमा सम्बन्धित सबैबाट सदासयता रहने विश्वास व्यक्त गर्दै सभा विसर्जन गर्नुभयो ।

प्राचिन काठमाडौंको परम्परागत ३२ टोल (हाल ६३ टोल) का आदरणीय नायः, गुरु, कजी ज्यूहरुको विशेष उपस्थिति रहेको सो कार्यक्रममा स्थानिय विशिष्ट व्यक्तित्व, समाजसेवीहरुका साथै स्थानिय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।


शालिक अनावरण कार्यक्रमका केहि झलकहरुः