Zj]tsfnL -g/b]jL_ gfrM

नरदेवी श्री श्वेतकाली (ङ्यतभुलु अजिमा) १२ वर्षे देवीनाच पर्व – एक परिचय

 

काठमाडौं उपत्यका मन्दिरै मन्दिरको शहर मात्र नभई विभिन्न जात्रापर्व एवं साँस्कृतिक धरोहरहरुले सुसज्जित एक जिवन्त शहर पनि हो । यहाँका कलात्मक मन्दिरहरुले नेपाली वास्तुशिल्पलाई विश्वसामु प्रस्तुत गरिरहेका छन् भने परम्परागत देविनाच लगायत यहाँका धार्मिक साँस्कृतिक जात्रापर्वले यहाँको जीवन्त संस्कृतिलाई विश्वसामु प्रस्तुत गरिरहेका छन् । प्राचिन काठमाडौंका यीनै मुर्त-अमुर्त साँस्कृतिक सम्पदाले गर्दानैं नेपाललाई विश्वसामु एक विशिष्ट पहिचान दिएको कुरा हामी सबैमा सर्वबिदितै छ ।

यस्तै काठमाडौं महानगरपालिका अन्तर्गत उत्तरमा थंबहिदेखि दक्षिणमा ओन्देसम्म फैलिएको प्राचिन बस्तिको मध्यभागमा अवस्थित नरदेवी श्री श्वेतकाली (ङ्यतभुलु अजिमा) राष्ट्रकै एक प्रमुख देवी एवं धार्मिक स्थलको रुपमा रहेको छ । नरदेवीको गुणकामदेवको पालामा भएको अनुमान गरिएको छ भने श्रीको देवीनाच पर्व अमर मल्लको पालामा शुभारम्भ भएको देखिन्छ । यसरी श्रीका देवीनाच लगायत गुठीगहनाहरु परापुर्वकालदेखिनै राष्ट्रबाट संरक्षित रहेका छन् । यसै सन्दर्भमा विजया दशमीका अवसरमा महाअष्टमीका दिन राष्ट्राध्यक्षबाट देवीको दर्शन गर्ने परम्परा रहिआएको छ । यीनै देवीले जगत उद्धारका निम्ति शक्तिस्वरुपाको दर्शन दिनुभएको महान दिनका रुपमा हरेक वर्ष पिशाच चतुर्दशी, पाहाँचह्रेका दिन नरदेवी स्थित देवीको डबलीमा श्रीको देवीनाच प्रदर्शन गरिने परम्परा रहेको छ जुन हालसम्म पनि स्थानीय ज्यापुसमाज र उदाय समाजको सकृय सहकार्यमा सम्पन्न हुने गरेको छ । जत अन्तर्गत देवीनाच गुठीमा प्रत्यक्षरुपमा ज्यापुसमाजबाट ४५ र उदाय समाजबाट १७ गरि जम्मा ६३ जनाको कार्यविभाजन सहित अनिवार्य सदस्य रहेका छन् भने दुबै समुदायका त्वा:गुठीका सम्पुर्ण सदस्यहरु जात्रागुठीका साधारण सदस्यका रुपमा रहेका छन ।

यसै गरि हरेक १२ वर्षमा श्रीको विशेष देवीनाच पर्व चलाउने परम्परा रहेको छ जस अनुसार पाहाँचह्रेको पुर्वसंध्यामा प्राचिन भित्रिशहरको देवीमार्ग अन्तर्गत मूलदेवघरबाट आरम्भ भइ नरदेवी- टेंगल-बाङ्गेमुडा-असन-जनबहाल-इन्द्रचोक-हनुमानढोका दरवार- चिकंमुगल, जैशिदेवल, क्वहिति-भिमसेनस्थान, मरु काष्ठमण्डप-यटखा हुँदै पुन: देवीको मूलदेवघर मा फिर्तिसवारी सवारी भए पश्चात पहाँचह्रेका दिन नरदेवी डबलीमा १२ देवीनाच पर्व अन्तर्गतको पहिलो देवीनाच प्रकाशन गरिन्छ ।

यसरी १२ वर्षे देविचान पर्व आरम्भ भए पछि काठमाडौंका विभिन्न प्राचिन दबलीका साथै मल्लकालीन राज्यहरु ललितपुर, किर्तिपुर, भक्तपुर, बनेपाका प्राचिन दरवार स्थित मूल दबलीहरु समेत विभिन्न १२ स्थानमा यो देवीनाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ जुन प्रारम्भ भएको मिनिले १२ वर्ष भित्र सम्पन्न गर्नु पर्ने मान्यता रहेको छ ।

सोहि सिलसिलामा यस पटक २०७८ साल चैत्रबाट १२ वर्षेदेवीनाच पर्व आरम्भ हुने भएको छ । यस अन्तर्गत मूलदेवीघरमा मूठाँ प्रतिस्थापन पुजा, मूल कलश प्रतिस्थापन पुजा, घंघला-सी पुजा, देवीको नगर परिक्रमा गरी नरदेवी डबलीमा हुने प्रथम चरणको देवीचान संचालन हुनेछ भने देवीनाच परम्परा अनुसार आगामी वर्षहरुमा उल्लेखित अन्य स्थानहरुमा देवीनाच प्रदर्शन गरिने छ ।

परापुर्वकालदेखि नै राष्ट्राध्यक्ष द्वारा सरंक्षित श्रीको १२ वर्षे देविनाच जात्रा वहांबाट प्रत्यक्ष दर्शण एवं पुजा अर्चनाभए पश्चात देवीको विधिवत नगरपरिक्रमा आरम्भ हुने गर्दछ । यसैगरि देवीनाचको समापन वर्षमा हुने चरणको पर्वकार्यमा पनि राष्ट्राध्यक्षबाट देवीको प्रत्यक्ष दर्शन एवं प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । यसरी नरदेवीको दर्शन मात्रले पनि भक्तजनको मनोकामना पुर्णभई कल्याण हुने जनविश्वास रहेको छ । यसैगरि नरदेवीको नाच दर्शन गर्नाले सुस्वास्थलाभ हुनुका साथै मानसिक शान्ति तथा आनन्दको अनुभुति भइ सफल र सरल जिवनयापन हुने जनविश्वास रहेको छ ।

देवीनाचमा सम्मिलित देवगणहरु:

१. ङ्यतभुलु अजिमा (नरदेवी, श्री श्वेतकाली)
२. कुमारी
३. भैरव
४. बाराही
५. गणेश
६. महालक्ष्मी
७. नारायणी
८. इन्द्रायणी
९. रुद्रायणी
१०. व्रह्मायणी
११. सिङ्घिनि
१२. व्याङ्घिनि
१३. करुणामय (सुथ:माजु)
१४. महादेव
१५. चण्डेश्वरी
१६. कुमार
१७. दैत्य
१८. ध्वं
१९. खिचा

१२ वर्षे देवीनाच पर्व हुने स्थानहरु:

१. ङ्यतपाचो स्थित देवीको मूल देवीघर
२. नरदेवी डबली
३. तलेजु भवानी डबली
४. कुमारी घर डबली
५. ललितपुर दरवार स्थित कात्ति डबली
६. किर्तिपुर दरवार स्थित लाय्कु डबली
७. भक्तपुर दरवार स्थित लाय्कु डबली
८. वनेपा स्थित लाय्कु डबली
९. हनुमानढोका दरवार स्थित श्वेतभैरव अगाडीको डबली
१०. हनुमानढोका दरवार स्थित कालभैरव अगाडीको डबली
११. इन्द्रचोक डबली
१२. हनुमानढोका दरवार स्थित नासलचोक डबली